• ६ फाल्गुण २०७५ सोमबार/ Monday 2-18-2019
  • स्टुडियो टाईम : ०७:३८

सार्वजनिक यातायात अब प्राधिकरणले हेर्ने, चालक र सहचालकको व्यक्तिगत विवरण अनिवार्य

काठमाडौं । सार्वजनिक सवारी धनी, चालक र सहचालकले अब व्यक्तिगत विवरण पेश गरेपछि मात्रै यस क्षेत्रमा रोजगारी पाउने भएका छन् । सरकारले सार्वजनिक यातायात क्षेत्रमा सुधार ल्याउन यस्तो व्यवस्था ल्याउने भएको हो । 

 

सार्वजनिक यातायातमा सुधार ल्याउन सरकारले यातायात प्राधिकरण गठन गर्ने र प्राधिकरणले सवारी धनी, चालक र सहचालकको व्यक्तिगत विवरण अनिवार्य माग गर्ने भएको छ । हाल यातायात व्यवस्था विभागले सम्पूर्ण यातायात क्षेत्रको नीति निर्माणदेखि सेवा प्रवाहसम्म गर्नुपर्दा यातायात क्षेत्र व्यवस्थित हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तर्क छ ।

“यातायात क्षेत्रलाई व्यवस्थित बनाउँदै सार्वजनिक यातायातलाई सहज बनाउन यातायात प्राधिकरण गठन गर्ने मन्त्रालयको योजना छ,” यातायात मन्त्री रघुवीर महासेठले भने, “मन्त्रालयको मातहत रहने गरी प्राधिकरण गठनको तयारी अन्तिम चरणमा पुगेको छ ।”

 

हाल यातायात व्यवस्था विभागलाई देशको सम्पूर्ण यातायात क्षेत्रको नीतिगतदेखि कार्यान्वयन गर्नसम्मको जिम्मेवारी रहेको छ । १६ वटा यातायात व्यवस्था कार्यालय र १३ वटा यातायात सेवा कार्यालयले विभागकै जिम्मेवारीमा काम गरिरहेका छन् ।

 

संघीय सरकारले गत साउनदेखि यी कार्यालयहरुलई प्रदेश सरकार मातहतमा लगे पनि विभागले प्रदेशस्थित भौतिक योजना मन्त्रालयलाई सहयोग गरिरहनु परेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए । “प्राधिकरण गठन गरेर जिम्मेवारी लिएपछि ती कार्यालयहरुको जिम्मेवारी केही घट्ने र प्राधिकरणलाई यातायात व्यवस्थापनको जिम्मेवारी दिइँदा यातायात क्षेत्रमा सुधार आउने हामीले विश्वास लिएका छौं,” सचिव अधिकारीले भने ।

 

प्राधिकरणले सरकारको खर्चमा निर्माण भएको सडकमा यातायात व्यवसायीको एकाधिकार तोड्ने र नयाँ व्यवसायीलाई सहज रुपमा समेट्ने सचिव अधिकारीले जानकारी दिए । व्यवसायी र सरकारको समान अधिकार रहने प्राधिकरणले पहिलो चरणमा उपत्यकापछि देशका मुख्य सहरको यातायात क्षेत्रलाई व्यवस्थित गर्नेछ ।

 

मन्त्रालयले प्राधिकरण गठनको सम्पूर्ण नीतिगत छलफल र निर्णय गरिसकेको मन्त्री महासेठले बताए । महासेठका अनुसार यसैवर्षको अन्त्यसम्म प्राधिकरणको विधिवत उद्घाटन गर्ने मन्त्रालयको योजना रहेको छ । “यसवर्षको चैतमा सम्पूर्ण नीतिगत छलफल र निर्णय सम्पन्न गरेर वैशाखमा प्राधिकरण स्थापना गरी पहिलो चरणमा काठमाडौंका यातायात सुधारको काम सुरु हुनेछ,” मन्त्री महासेठले स्पष्ट पारे ।

 

मन्त्रालयले चीन सरकारसँग खरिद गरी ३ सय वटा विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ । प्राधिकरणले ती बस काठमाडौं उपत्यकामा सञ्चालन गर्नेछ । प्राधिकरणको मुख्य कार्यालय काठमाडौंमा रहने छ भने अन्य ६ प्रदेशमा एकएकवटा कार्यालय स्थापना गरिने छ । प्राधिकरणको तालुक निकाय यातायात व्यवस्था विभाग रहने छ । विभागले प्राधिकरण सञ्चालनबारे आवश्यक छलफल गरिरहेको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बाह्रखरीलाई जानकारी दिए । 

 

“प्राधिकरण स्थापना र सञ्चालनबारे नीतिगत निर्णय र छलफल मन्त्रालय स्तरमा सम्पन्न भइसकेको छ,” महानिर्देशक ढकालले भने, “विभागले बनाएका नीति र कार्यविधि सवारी साधनले पालना गरेका छन् कि छैनन् ? यसबारे प्राधिकरणका कर्मचारीलाई निर्देशन दिने बुँदाहरु हामी तयार गरिरहेका छौं ।”

 

हालका यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयहरु सवारी साधनको जाँचपास र कागजपत्रको नामसारीलगायतका कागजी काममा व्यस्त रहेकाले सवारी साधनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नभ्याएको महानिर्देशक ढकालले बताए ।

 

“प्राधिकरण गठन भएर यसले काम गर्न थालेपछि प्रत्येक सवारी रुट इजाजत अनुसार चलेको छ कि छैन, कुन सवारीलाई कुन सडकमा चलाउनुपर्ने हो, सिट क्षमता र सवारीको आकार ठिक छ कि छैन, धुँवा प्रदूषण छ कि छैन, सरकारले तोकेको भाडा कार्यान्वयन भएको छ कि छैन जस्ता काम प्राधिकरणले गर्नेछ,” महानिर्देशक ढकालले थपे, “सवारी धनी, चालक र सहचालकको व्यक्तिगत विवरण पनि प्राधिरकरणले राख्ने हुँदा सवारी साधनको जथाभावी सञ्चालनमा न्यूनीकरण र सवारी चोरीमा पनि कमी आउने हाम्रो विश्वास छ ।”
हाल देशभर करिब २७ लाख सवारी सञ्चालनमा रहेको विभागको तथ्यांक छ । जसमा काठमाडौं उपत्यकामा मात्रै करिब ११ लाख सवारी सञ्चालन हुन्छन् ।  साँघुरा सडक र विभिन्न निकायले मर्मत सम्भार र विस्तारका क्रममा उपत्यकाका सडक दिनहुँ खन्ने गरेकाले यहाँको यातायात थप अस्तव्यस्त बनेको महानगरीय ट्राफिक प्रहरी कार्यालयका एसएसपी वसन्तकुमार पन्त बताउँछन् ।

 

यातायात प्राधिकरणले सडकमा काम गर्ने निकायबीच छलफल गरेर सडकको आकार सवारीको प्रकारको अध्ययन गरी रुट इजाजत कार्यान्वयन गरिने विभागका महानिर्देशक ढकालले बताए ।   

प्रतिकृया दिनुहोस

दोस्रो रोल्पा महोत्सव सम्पन्नताका लागि जि.स.स.प्रमुख सहितको टोली काठमाडौं प्रस्थान

# slider

१९ पौष, २०७५

रोल्पा २०७५ पौष १८ । रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको आयोजनामा सुनिल स्मृति गाउँपालिका सुलिचौरमा माघ १८ देखि २४ गते सम्म आयोजना गरिएको “दोस्रो

फोटो ग्यालरी